सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारी र त्यहाँ पुग्ने सेवाग्राहीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को सेवा इकाई सञ्चालनमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको भुइँतलामा उक्त सेवा इकाई स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । कार्यस्थलमै प्रारम्भिक स्वास्थ्योपचार र परीक्षणको व्यवस्था मिलाउने सरकारको यो कदमलाई निजामती प्रशासनभित्र सकारात्मक रूपमा हेरिएको छ ।
मन्त्रालयका अनुसार कर्मचारीहरूले सामान्य स्वास्थ्य जाँच तथा परीक्षणका लागि पनि कार्यालय नै छोडेर अस्पतालसम्म धाउनुपर्ने बाध्यतालाई कम गर्न यो इकाई स्थापना गरिएको हो। सिंहदरबारभित्रै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीहरूको समय बचत हुने र सेवा प्रवाहमा समेत अवरोध नआउने विश्वास लिइएको छ ।
साथै, मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा दिनानुदिन बढ्दै गएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थित गर्न र भीडभाड कम गर्नसमेत यो मन्त्रालयस्तरीय इकाईले सघाउने मन्त्रालयको भनाइ छ । नयाँ सञ्चालनमा आएको सेवा इकाईबाट प्रारम्भिक स्वास्थ्य जाँच, रगत परीक्षण र आकस्मिक एवं सामान्य स्वास्थ्य समस्याका लागि आवश्यक चिकित्सकीय परामर्श उपलब्ध हुनेछ ।



