उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सिन्धुपाल्चोकस्थित तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्मका लागि तीन दिनका लागि खुला गरिएको छ। यस अवधिमा केवल मालवाहक सवारीसाधनलाई मात्र नाकाबाट आवतजावत गर्न अनुमति दिइएको छ ।
हिमालय सीमापार वाणिज्य संघले नाकालाई तीन दिनमा मात्र सीमित नराखी तत्काल र नियमित रूपमा सञ्चालन गर्न माग गरेको छ। यसका लागि नेपालस्थित चिनियाँ दूतावासमा ध्यानाकर्षण पत्रसमेत बुझाइएको संघका महासचिव रामचन्द्र पराजुलीले जानकारी दिएका छन् । नाका लामो समय बन्द हुँदा चीनबाट सामान बोकेर आउनुपर्ने कन्टेनरहरू दुवैतर्फ रोकिएका छन्। यसले गर्दा विशेषगरी कृषि उत्पादन, नाशवान् वस्तु तथा मौसमी व्यापारिक सामग्री बिग्रने जोखिम बढेको र साना व्यापारीहरूले ठूलो आर्थिक क्षति ब्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
हाल भन्सार जाँचपास तथा सवारीसाधनको आवागमनका लागि सडकमा रहेका अवरोधहरू हटाइसकिएको र सडक पूर्ण रूपमा सञ्चालनयोग्य भइसकेकाले नाका नियमित रूपमा सुचारू गर्नुपर्ने व्यवसायीहरूको जोड रहेको यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिकै कारण चिनियाँ पक्षले भदौ १५ देखि अर्को सूचना नआएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो ।



