नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा चीनतर्फ प्रस्थान गरेकी छन्। चीनको हपेई प्रान्तस्थित स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स फोरम’ मा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।
अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुने उक्त फोरमको मुख्य ‘थिम’ “परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण” रहेको छ। सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा मुख्य सम्बोधन गर्ने कार्यक्रम उहाँको सचिवालयले जनाएको छ।
अक्टोबर २४ र २५ मा हुने विभिन्न समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठकमा बहुपक्षीयताको प्रवर्द्धन, संयुक्त राष्ट्रसंघमा आवश्यक सुधार, विकासशील मुलुकको भूमिका र अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ का विषयहरूमा छलफल गरिनेछ। यसबाहेक जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर सुरक्षाजस्ता समसामयिक मुद्दाहरूमा पनि बहस हुनेछ।
एमालेको वरिष्ठ नेता मनोनीत भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो। सम्मेलन सम्पन्न गरी पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने तालिका रहेको छ।



