रुसमाथि युक्रेनको आक्रमणपछि ट्रम्प आक्रोशित: जेलेन्स्कीलाई युद्ध लम्ब्याएको आरोप

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको तनाव थप गहिरिएको छ। अमेरिकाको चेतावनीका बाबजुद युक्रेनले रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख तेल टर्मिनल र रिफाइनरीहरूमाथि ठूलो ड्रोन आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको कडा आलोचना गरेका छन्।

रुसी ऊर्जा संरचनामाथिको आक्रमणले विश्वव्यापी डिजेल तथा इन्धन आपूर्तिमा समस्या निम्त्याएको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन्। उनले युक्रेनका राष्ट्रपतिले रुससँगको शान्ति सम्झौता नचाहिरहेको र जानाजान युद्ध लम्ब्याइरहेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले रुससँगको शान्ति वार्तालाई जोगाइराख्न र कूटनीतिक बाटो खुला राख्न मस्कोमाथिका केही प्रतिबन्धहरू समेत हटाएका थिए। तर युक्रेनले अमेरिकी चेतावनीको बेवास्ता गर्दै रुसमाथि लगातार ड्रोन आक्रमण जारी राखेपछि दुई देशबीचको सम्बन्धमा थप चिसोपन आएको छ।

युद्ध अन्त्यका लागि जेलेन्स्की बाधक बनेको टिप्पणी गर्दै ट्रम्पले युक्रेनी जनतालाई नयाँ नेता वा राष्ट्रपतिको चयन गर्न समेत सुझाव दिएका छन्। यस किसिमको कडा अभिव्यक्तिका कारण अमेरिका र युक्रेनबीचको भावी सहकार्य र सैन्य सहायतालाई लिएर गम्भीर प्रश्नहरू उब्जिएका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ