नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको वार्षिक चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ। देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र सिङ्गो मुलुक शोकको अवस्थामा रहेकाले चियापान समारोह स्थगित गरिएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा जनाइएको छ।
भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बिनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा बढी मानिसहरू बेपत्ता र प्रभावित भएका छन्। विपद्को यस कठिन परिस्थितिमा उत्सव वा औपचारिक कार्यक्रम गर्नु उपयुक्त नहुने ठहर गर्दै पार्टीले चियापान स्थगित गरेको हो।
नेपाली कांग्रेसले वि.सं. २०३४ देखि निरन्तर रूपमा कोजाग्रत पूर्णिमाको दिन चियापान समारोहको आयोजना गर्दै आएको थियो। वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका नेता बीपी कोइरालाले शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले यो परम्परा सुरु गर्नुभएको थियो।
यसैबीच कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्वहरू मनाउँदा भड्किलो र तडकभडकपूर्ण शैली नअपनाउन आग्रह गर्नुभएको छ। उहाँले सबै नागरिक तथा पार्टी कार्यकर्तालाई शान्त र संयमित रहँदै परिवारभित्रै सीमित भएर पर्व मनाउन आह्वान गर्नुभएको छ।



