बालेन शाह सरकारको १०० दिन

काठमाडौँ, २० असार २०८३ जेनजी आन्दोलनको जगमा गत चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहको नेतृत्वमा गठन भएको सरकारले आज आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ । सुशासन, पारदर्शिता र प्रशासनिक एकाधिकारको अन्त्यलाई जग बनाएर बनेको यो सरकारले आज दिउँसो ३ बजे सिंहदरबारबाट आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गर्दैछ । सरकार गठन हुनासाथ सार्वजनिक गरिएको कार्ययोजना र प्राथमिकताका आधारमा यस ‘हनिमुन पिरियड’ मा भएका उपलब्धि र चुनौतीहरूको समीक्षा गर्दै यो विशेष समाचार तयार पारिएको छ ।

सरकारले यस अवधिमा राजनीतिक प्रशासनिक संयन्त्रमा दशकौँदेखि जकडिएका विकृतिहरू तोड्न केही ठूला र साहसिक निर्णयहरू लिएको दाबी गरेको छ । विगत तीन दशक (२०४८ साल) यता सत्ता र शक्तिको बागडोर सम्हालेका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक अधिकारीहरूको सम्पत्ति छानबिनका लागि एक शक्तिशाली आयोग गठन गर्नुलाई सरकारले आफ्नो सबैभन्दा ठुलो उपलब्धिको रूपमा प्रस्तुत गरेको छ । यसबाहेक विभिन्न सरकारी निकाय र संस्थानहरूमा राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएका १ हजार ५ सय ९४ वटा अनावश्यक राजनीतिक नियुक्तिहरू खारेज गरेर सरकारले राज्यकोषको करोडौँ व्ययभार कटौती गरेको छ ।

कर्मचारीतन्त्रभित्रको बेथिति अन्त्यका लागि बालेन सरकारले कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयहरूमा दलीय राजनीतिको अखडा बनेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने घोषणा गरेको छ । लामो समयदेखि सिंहदरबार र काठमाडौँका आकर्षक कार्यालयहरूमा पहुँचका भरमा टिकिरहेका कर्मचारीहरूलाई स्थानीय तहमा सरुवा गरिएको छ भने स्थानीय तहमा देखिँदै आएको प्रमुख प्रशासकीय अधिकृतको अभावलाई समेत समाधान गरिएको छ । प्रशासनिक पारदर्शिताका लागि इतिहासमै पहिलोपटक कर्मचारी सरुवामा अनलाइन प्रणालीको सुरुवात गरिएको छ भने कानुनबमोजिमबाहेकका कर्मचारीहरूले प्रयोग गर्दै आएको सवारी सुविधा र इन्धन कटौती गरिएको छ ।

 भूमि र वित्तीय क्षेत्रमा व्याप्त माफियातन्त्र विरुद्ध पनि सरकारले केही नीतिगत कदमहरू चालेको छ । माफियाहरूले हडपेका सरकारी तथा सार्वजनिक जग्गाहरू राज्यको नाममा फिर्ता ल्याउने प्रयास तीव्र पारिएको छ भने देशैभर संकटग्रस्त बनेका सहकारीका बचतकर्ताहरूको रकम फिर्ता र समस्या समाधानका लागि विशेष पहल थालिएको छ । भ्रष्टाचार र वित्तीय अपराधका ठुला फाइलहरूमा आक्रामक रूपमा छानबिन अगाडि बढाइएको छ । साथै, सेवाप्रवाहमा रहेका प्रक्रियागत झन्झट घटाउन र प्रशासनिक चुस्तता ल्याउन मन्त्रालयहरूको संख्या र अनावश्यक दरबन्दी कटौती गर्ने गृहकार्यसँगै १०० भन्दा बढी कानुन संशोधनको प्रक्रिया अगाडि बढाइएको सचिवालयले जनाएको छ ।

 नीतिगत र संरचनागत तहमा केही आशालाग्दा कामहरूको थालनी भए पनि व्यावहारिक धरातलमा बालेन सरकार चौतर्फी आलोचना र असन्तुष्टिबाट अछुतो रहन सकेन । बिना कुनै उचित विकल्प र मानवीय व्यवस्थापन, सुकुम्वासीहरूलाई बलपूर्वक हटाउन खोजेको भन्दै मानवअधिकारवादी र नागरिक स्तरबाट सरकारको चर्को आलोचना भएको छ । त्यसै गरी, ठोस तथ्य र प्रमाणविना नै उद्यमी व्यवसायीहरूलाई त्रसित बनाएको, बजारमा महँगी नियन्त्रण गर्न नसकेको र गरिखाने निम्न वर्गका लागि कुनै राहत वा रोजगारमूलक ठोस योजना ल्याउन नसकेको आरोप सरकारमाथि छ । शिक्षा लगायतका संवेदनशील क्षेत्रमा थपिएको कर र विपक्षी दलका नेता-कार्यकर्तामाथि राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको विषयले पनि बजार तातेको छ ।

आम नागरिक र विशेष गरी कलाकर्मीहरूले बालेन सरकारको यो १०० दिनलाई विकृत राजनीतिक प्रणाली सुधार्ने एउटा ‘आशालाग्दो सुरुवात’ का रूपमा लिएका छन् । तर, राजनीतिक विश्लेषकहरूले भने सरकारलाई जवाफदेहिता र कानुनी प्रक्रिया भुलेर केवल ‘नायकत्वको भ्रम र पपुलिजम’ तर्फ उन्मुख नलिन सचेत गराएका छन् । आज दिउँसो ३ बजे प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सिंहदरबारबाट सार्वजनिक गर्ने पूर्ण प्रतिवेदनले सरकारको आगामी यात्रा कस्तो हुनेछ भन्ने कुरा थप प्रष्ट पार्ने देखिन्छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ