नेपाल सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ। ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच सिङ्गो विषयमा गहन छलफल भएपछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो।
वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति भएसँगै महाअभियानले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा आयोजना गर्दै आएका धर्ना, जुलुस तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय गरेको छ।
सहमतिअनुसार महाअभियानले उठाएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक सुरक्षा, लघुवित्त तथा सहकारी पीडितका समस्या समाधानका लागि सरकारले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। दुवै पक्षबीच भएको यो सम्झौताले पछिल्लो समय सिर्जित राजनीतिक तथा सामाजिक तनावलाई कम गर्दै निकास दिने विश्वास लिइएको छ।



