जापानको माउन्ट फुजीमा एक बुबाले आफ्ना ७ वर्षका छोरालाई एक्लै छाडेर पदयात्रा जारी राखेको खबर बाहिर आएको छ। जापानी सञ्चारमाध्यमका अनुसार ४८ वर्षका ती व्यक्तिले छोराले थाकेको गुनासो गरेपछि उसलाई २००० मिटरभन्दा बढी उचाइमा रहेको बेन्चमा छाडेर जेठो छोरासँग उकालो लागेका थिए।
बालक कुहिरो र पानी परिरहेको मौसममा एउटा जुस र स्न्याक्सको भरमा एक्लै बसिरहेका थिए। फुजीनोमिया रुटको छैटौँ स्टेसन नजिकै रहेको माउन्टेन हटका कर्मचारीहरूले बालकलाई देखेका थिए। उनीहरूले तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा बुबालाई आठौँ स्टेसनमा (जहाँ पुग्न करिब तीन घण्टा लाग्छ) फेला पारेका थिए।
प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर गम्भीर चेतावनी दिएका छन्। “उकालो चढ्ने योजना रद्द गर्नुपरे पनि बालबालिकालाई यसरी अलपत्र छाड्नु कदापि स्वीकार्य हुँदैन,” भन्दै प्रहरीले उनलाई सचेत गराएका थिए। त्यसपछि ती पिताले आफ्नै निर्णयप्रति माफी मागेका थिए।



