कांग्रेसको १५औं महाधिवेशन: मतगणना सकियो, दसैंपछि शपथग्रहण र पहिलो बैठक

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान समाप्त भएको छ। मधेस र बागमती प्रदेशका साथै विभिन्न समावेशी तथा अपाङ्गता भएका/सहिद परिवारका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा आएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना प्रक्रिया सम्पन्न भएको हो।

निर्वाचन समितिका अनुसार यसपटक झण्डै १ लाख ६२ हजार मतपत्र र २२९ पदका लागि भएको निर्वाचनको मतगणना विगतको तुलनामा निकै छिटो सम्पन्न भएको छ। १४औं महाधिवेशनमा ४,७०० मतदाताको मत गन्न १२ दिन लागेकोमा यसपटक ७,३९२ मतदाताको मत करिब २५ वटा समूह बनाएर दिन-रात गन्दा एक सातामै सकिएको हो।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैं लगत्तै आयोजना गर्ने तयारी गरिएको छ। शपथग्रहणपछि लगत्तै बस्ने नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी र रणनीतिबारे छलफल हुने बताइएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ