अमेरिकाको ओरिगन राज्यस्थित बेन्ड शहरमा रहेको सिल्भर रेल एलिमेन्ट्री स्कूलमा बिहीबार एक १६ वर्षीय किशोरले गरेको अन्धाधुन्ध गोलीप्रहारबाट ५, ८ र ११ वर्षका ३ जना बालबालिका तथा १ जना शिक्षिकाको मृत्यु भएको छ। यस घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार १६ वर्षीय ती किशोरले विद्यालयको बन्द ढोकामा गोली हानेर जवरजस्ती भित्र प्रवेश गरेका थिए। बन्दुकधारी प्रवेश गरेलगत्तै स्थानीय समय अनुसार दिउँसो करिब १ बजे आपत्कालीन ९११ नम्बरमा खबर गरिएको थियो। विद्यालयभित्र पसेर गोली चलाइरहेका आक्रमणकारीलाई पछ्याउँदै प्रवेश गरेका एक सर्वसाधारण (प्रत्यक्षदर्शी) ले प्रतिकार गर्दै गोली हानेपछि आक्रमणकारी किशोरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि विद्यार्थीहरूलाई सुरक्षित स्थानमा पुर्याएर अभिभावकको जिम्मा लगाइएको छ भने जिल्लाका सबै विद्यालयहरू बन्द घोषणा गरिएको छ। प्रहरीले आक्रमणकारीसँग लामो खालको बन्दुक रहेको र उनी सोही क्षेत्रका बासिन्दा भएको पुष्टि गरे पनि घटनाको मुख्य कारण र विद्यालयसँग उनको कुनै सम्बन्ध थियो कि थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएको छ।




