तिब्बती भाषा पढाउने प्रलोभन देखाएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकालाई नेपाल-भारत सीमा क्षेत्र बनबासाबाट सकुशल उद्धार गरिएको छ। हुम्ला जिल्लाको विकट क्षेत्र सिमकोट गाउँपालिका–८, सेयरा घर भएका ती सबै बालबालिकाहरू १० वर्षभन्दा मुनिका रहेका छन्। उनीहरूलाई सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाका पार गराएर भारततर्फ लैजाने क्रममा यो घटना बाहिर आएको हो।
ती बालबालिकाहरूलाई पञ्चवीर बुढा नाम गरेका व्यक्तिले आफ्नो साथमा लिएर जाँदै थिए। नेपालको सीमा पार गरेर भारतीय भूमि बनबासास्थित सुरक्षा चेकपोस्टमा पुगेपछि त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीहरूले ठूलो संख्यामा साना बालबालिका देखेर शङ्का मानेका थिए। त्यसपछि गरिएको सोधपुछका क्रममा उनीहरूलाई कहाँ र किन लैजान लागिएको हो भन्ने कुनै आधिकारिक कागजात वा चित्तबुझ्दो जवाफ नभेटिएपछि सुरक्षाकर्मीले उनीहरूलाई नेपालतर्फ नै फिर्ता पठाएका हुन्।
भारतीय सुरक्षाकर्मीले नेपाल फर्काएपछि हाल ती सबै २५ जना बालबालिकालाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बालबालिकालाई देहरादुनको कुन शैक्षिक संस्था वा गुम्बामा भर्ना गराउन लागिएको थियो भन्ने कुरा खुल्न सकेको छैन। यस घटनामा अभिभावकको पूर्ण सहमति थियो वा मानव बेचबिखन तथा ओसारपसार गर्ने कुनै गिरोहको संलग्नता छ भन्ने गम्भीर विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ। प्रहरीले बालबालिकाको सुरक्षित पारिवारिक पुनर्मिलनको लागि समेत पहल थालेको छ।



