अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा छिट्टै “ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खनन सुरु हुन लागेको” भनी गरेको दाबीलाई ग्रिनल्याण्ड सरकारले औपचारिक रूपमै अस्वीकार गरेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मार्फत ग्रिनल्याण्डमा विश्वकै सबैभन्दा धेरै र सजिलै निकाल्न सकिने तेल रहेको र यसको उत्खननको तयारी भइरहेको दाबी गरेका थिए।
ग्रिनल्याण्डका उप-खानी मन्त्री जोर्गेन ह्यामेकेन-होल्मले अमेरिकी कम्पनीहरूद्वारा केही सामान्य गतिविधिहरू भइरहेको स्वीकार गरे पनि “ठूलो मात्रामा” अन्वेषण र उत्खनन हुने कुरा वास्तविकताभन्दा धेरै टाढा रहेको बताएका छन्। उनले हाल भइरहेका साना अन्वेषण परियोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आउन अझै धेरै वर्ष लाग्ने स्पष्ट पारेका छन्।
भौगोलिक र वातावरणीय दृष्टिकोणले पनि ट्रम्पको दाबी अव्यावहारिक मानिएको छ। ग्रिनल्याण्डको करिब ८० प्रतिशत भूभाग बाक्लो हिउँ र बरफले ढाकेको छ भने त्यहाँ सडक तथा अन्य पूर्वाधारहरूको चरम अभाव छ। विज्ञहरूका अनुसार यस्तो कठोर मौसम र विकट आर्कटिक क्षेत्रमा तेल तथा ग्यास निकाल्ने कार्य प्राविधिक रूपमा अत्यन्तै जटिल र आर्थिक रूपमा निकै महँगो छ।
पछिल्लो समय ट्रम्पले ग्रिनल्याण्ड र त्यहाँका प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण जमाउने विषयमा बारम्बार अभिव्यक्ति दिँदै आएका छन्। गत महिना मात्र अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच बढ्दो तनाव कम गर्न एउटा सुरक्षा सम्झौता भएको थियो, जसलाई ट्रम्पले अमेरिकालाई ग्रिनल्याण्डको सुरक्षामा “स्थायी नियन्त्रण” प्राप्त भएको दाबी गरेका थिए। यसै सन्दर्भमा आएको पछिल्लो खनिज उत्खननको दाबीलाई ग्रिनल्याण्डले तथ्यहीन भन्दै खारेज गरेको हो।



