अमेरिकाले सिरियालाई आतङ्कवाद प्रायोजन गर्ने देशको सूचीबाट औपचारिक रूपमा हटाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो ऐतिहासिक निर्णयसँगै दशकौँदेखि सिरियामाथि लगाइएका कडा आर्थिक र व्यापारिक प्रतिबन्धहरू फुकुवा हुने नयाँ ढोका खुलेको छ।
अमेरिकी विदेश मन्त्रालयले सिरियाका नयाँ राष्ट्रपति अहमद अल-शरा र उनको नेतृत्वमा रहेको समूह ‘हायात तहरीर अल-शाम’ लाई पनि विश्वव्यापी आतङ्कवादी सङ्गठनको सूचीबाट हटाउने प्रक्रिया पूरा गरेको छ। सन् २०२४ को डिसेम्बरमा बसर अल-असदको सत्ता पतन भएपछि नयाँ नेतृत्व सम्हालेका अल-शरासँग अमेरिकी प्रशासनले सम्बन्ध विस्तार गर्ने रणनीति अपनाएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार सिरियालाई यस सूचीबाट हटाएसँगै त्यहाँ वैदेशिक लगानी भित्र्याउन, आर्थिक पुनरुत्थान गर्न र देशलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पुनः जोड्न सहज हुनेछ। सन् १९७९ देखि अमेरिकाको आतङ्कवादी सूचीमा रहेको सिरिया हटेपछि अब यस ब्ल्याकलिस्टमा इरान, उत्तर कोरिया र क्युबा मात्र बाँकी रहेका छन्।
यस निर्णयप्रति खुसी व्यक्त गर्दै सिरियाली राष्ट्रपति अल-शराले एक भिडियो सन्देशमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। उनले यस कदमलाई सिरियाको आधुनिक इतिहासमा “नयाँ अध्यायको सुरुवात” भन्दै देशलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता जनाएका छन्।



