भोटेकोशी र त्रिशूलीमा आएको भीषण बाढीले रसुवाका तटीय बस्ती अस्तव्यस्त, सडक र पुल ध्वस्त

नेपाल-चीन सीमावर्ती क्षेत्र ल्हेन्दे खोला र त्रिशूली नदीमा अचानक आएको भीषण बाढीले रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको छ। भोटेकोशी तथा त्रिशूली नदी किनारका टिमुरे, स्याफ्रुबेसी, र बेत्रावती लगायतका प्रमुख बजार तथा बस्तीहरू बाढीको प्रत्यक्ष प्रभावमा परेका छन्। बाढीले दर्जनौँ घरटहरा, पसल र ठूलो मात्रामा भौतिक संरचना बगाएको छ।

भीषण बाढीका कारण तटीय क्षेत्रमा रहेका ३ वटा प्रहरी कार्यालयका भवनहरू बगेका छन् भने केही प्रहरी अधिकारी तथा स्थानीयहरू सम्पर्कविहीन भएका छन्। यसका साथै, सो क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाहरूका संरचना, सवारीसाधन र निर्माण सामग्रीहरूमा समेत बाढीले व्यापक क्षति पुर्‍याएको छ।

बाढीका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न खण्डहरूसहित केही मुख्य पुलहरू बगेका छन्। जसका कारण चीनसँगको व्यापारिक नाका जोड्ने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ र तटीय क्षेत्रका सर्वसाधारणको आवतजावत ठप्प बनेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) र स्थानीय प्रशासनको टोली घटना स्थलमा खटिएर उद्धार कार्य जारी राखेका छन्। तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित उच्च स्थानमा सारिँदै छ भने हराइरहेकाहरूको खोजी कार्य तीव्र पारिएको छ। नदीको बहाव अझै उच्च रहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ