विदेशी विश्वविद्यालय सम्बद्ध कलेज नियमन गर्न सरकारले ल्याउँदैछ नयाँ नियमावली, मस्यौदा कानून मन्त्रालयमा

काठमाडौँ । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका कलेज तथा क्याम्पसहरूलाई व्यवस्थित र कडा नियमन गर्न नयाँ नियमावली ल्याउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजहरूका बारेमा चौतर्फी गुनासो बढेपछि तिनीहरूलाई कानुनी दायरामा ल्याउन नयाँ नियमावलीको मस्यौदा तयार पारिएको जानकारी दिएका छन्।

शिक्षा मन्त्रालयले तयार पारेको उक्त नियमावलीको अन्तिम मस्यौदा राय र स्वीकृतिका लागि अर्थ मन्त्रालय हुँदै अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकिएको छ। कानून मन्त्रालयबाट स्वीकृत भएर आउनासाथ यसलाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने मन्त्री पोखरेलले बताए।

हाल नेपाली विश्वविद्यालय र तिनीहरूका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरू सरकारी नियमनभित्र रहे पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन सकेका छैनन्। नयाँ नियमावली लागू भएपछि कुन स्तरका विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने वा नमिल्ने, तिनीहरूको सञ्चालन प्रक्रिया र नियमनको ढाँचा कस्तो हुने भन्ने विषय स्पष्ट हुनेछ।

मन्त्री पोखरेलका अनुसार शिक्षा मन्त्रालयले अहिले एकैसाथ तीनवटा महत्त्वपूर्ण नियमावलीहरू अगाडि बढाएको छ। जसमा शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन्। संघीय शिक्षा ऐन तत्काल संसद्को चालु अधिवेशनबाट आउन नसक्ने भएपछि मन्त्रालयले नियमावलीमार्फत नै शैक्षिक क्षेत्रका विसंगतिहरूलाई नियन्त्रण र व्यवस्थित गर्न लागेको हो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ