अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम र हर्मुज जलडमरू पुन: खोल्ने विषयमा भइरहेको वार्ता अन्तिम चरणमा पुगेको र सम्झौताको घोषणा चाँडै गरिने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले मध्यपूर्वका विभिन्न देशका नेताहरूसँगको निरन्तर छलफलपछि यस सम्झौताले अन्तिम रूप लिन लागेको जानकारी दिएका हुन्।
“संयुक्त राज्य अमेरिका, इरान र अन्य सम्बद्ध राष्ट्रहरूबीचको ठूलो प्रयासपछि सम्झौताको खाका तयार भइसकेको छ। अहिले सम्झौताका अन्तिम पक्ष र विस्तृत विवरणहरूमाथि छलफल भइरहेको छ, जसलाई चाँडै नै आधिकारिक रूपमा घोषणा गरिनेछ,” ट्रम्पले लेखेका छन्।
यो प्रगति अमेरिकी राष्ट्रपतिको कूटनीतिक पहलकदमीपछि आएको दाबी गरिए पनि अमेरिकी नागरिक र विश्लेषकहरूमाझ भने यसको मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई युद्ध रोक्ने सकारात्मक कदमका रूपमा हेरेका छन् भने आलोचकहरूले ट्रम्पको नीतिका कारण नै यसअघि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको भन्दै सम्झौताको टिकाउपनमाथि आशंका व्यक्त गरेका छन्।
यो सम्झौताले पूर्णता पाएमा विगत केही समयदेखि जारी अमेरिका-इरान तनाव मत्थर हुनका साथै विश्वव्यापी तेल आपूर्ति र व्यापारिक मार्गमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।



