बेइजिङ, १० जेठ (एजेन्सी) । उत्तरी चीनको साङ्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण ग्यास विस्फोटमा परी कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। विगत एक दशकभन्दा बढी समयमा चीनको खानी क्षेत्रमा भएको यो नै सबैभन्दा घातक र ठूलो दुर्घटना भएको राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले जनाएका छन्। साङ्सी प्रान्तको क्युनुआन काउन्टीमा रहेको ‘ल्युसेन्यु कोइला खानीमा शुक्रबार बेलुका अचानक ग्यास विस्फोट भएको थियो। विस्फोटको समयमा खानीभित्र करिब २५० जना श्रमिक कार्यरत थिए। तीमध्ये २०१ जनालाई सुरक्षित बाहिर निकालिएको छ, जसमध्ये १२३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खानीभित्र कार्बन मोनोअक्साइड ग्यासको मात्रा अत्यधिक बढेका कारण उद्धार टोलीलाई भित्र पस्न निकै सकस भइरहेको छ। कम्पनीले उपलब्ध गराएको खानीको भूमिगत नक्सा र भित्रको वास्तविक अवस्था नमिलेका कारण पनि उद्धार कार्य ढिलाइ भएको जनाइएको छ। केही श्रमिकहरूले बोक्नुपर्ने व्यक्तिगत जीपीएस ट्रयाकर समेत साथमा नलागेकाले कतिपय अझै बेपत्ता छन् वा छैनन् भन्ने स्पष्ट हुन सकेको छैन।
घटनालगत्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ताहरूको खोजीका लागि “पूर्ण तागत” लगाउन र घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ।
यसैबीच, खानी सञ्चालन गर्ने कम्पनीका प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ। चीनमा तीव्र आर्थिक विकासका लागि कोइला ऊर्जाको प्रमुख स्रोत रहँदै आए पनि पछिल्लो समय सुरक्षा मापदण्ड कमजोर हुँदा यस्ता भयानक दुर्घटनाहरू दोहोरिने गरेका छन्।



