भारतीय विदेश मन्त्रालयले नेपालका लागि नयाँ भारतीय राजदूतका रूपमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम सिफारिस (प्रस्ताव) गरेको छ। अघिल्ला राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरेर नयाँ दिल्ली फर्किएपछि भारत सरकारले दलेलाको नाम सहमतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा पठाएको हो। नेपाल सरकारले सहमति स्वीकृत गरेपछि उनी औपचारिक रूपमा राजदूत नियुक्त भई काठमाडौंस्थित भारतीय दूतावासको जिम्मेवारी सम्हाल्न आउनेछन्।
सुधाकर दलेला भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका पाका तथा अनुभवी कूटनीतिज्ञ हुन्। विदेश सेवामा प्रवेश गर्नुअघि उनी इलेक्ट्रोनिक्स इन्जिनियर थिए। कूटनीतिक यात्राका क्रममा उनले इजरायलको तेल अभिभ, ब्राजिलको ब्रासिलिया, बंगलादेशको ढाका, स्विट्जरल्यान्डको जेनेभा, भुटानको थिम्पु, र अमेरिकाको वासिङ्टन डीसी तथा सिकागोस्थित भारतीय नियोगहरूमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत रहेका दलेला पछिल्लो समय भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए।
नेपालसँगको सम्बन्धका दृष्टिकोणले पनि दलेलासँग पुरानो र गहिरो अनुभव रहेको छ। उनले सन् २००६ देखि २००७ सम्म विदेश मन्त्रालयको ‘नर्थ’ डिभिजनमा निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनको सहसचिव भएर काम गरिसकेका छन्, जसअन्तर्गत नेपाल र भुटान मामिला हेर्ने गरिन्थ्यो। यसबाहेक उनले सन् २००९ देखि २०११ सम्म भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार संगठनमा भारतको उपस्थायी प्रतिनिधिको भूमिकासमेत निभाएका छन्।
कूटनीतिक क्षेत्रमा दलेलालाई दक्षिण एसियाली मामिला, आर्थिक कूटनीति तथा व्यापारिक सम्बन्धका विज्ञ मानिन्छ। नेपाल र भारतबीचको आर्थिक, ऊर्जा, तथा पूर्वाधार विकास साझेदारीलाई अघि बढाउन उनको अनुभव महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।



