नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पेस गरेको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। दुवै नेताहरूले छुट्टाछुट्टै पेस गरेको उक्त पूरक रिट निवेदन अध्ययनपछि अदालतले दर्ता गरेको हो।
निवेदन दर्ता भएसँगै सर्वोच्च अदालतले यस मुद्दाको प्रारम्भिक सुनुवाइका लागि आगामी बिहीबारका लागि पेसी तोकेको छ। यसअघि शुक्रबार पेस गरिएका रिट निवेदनहरू केही कानुनी प्रक्रिया सच्याउनका लागि फिर्ता लगि सोमबार पुनः पेस गरिएका थिए।
नेपाली कांग्रेस केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका पारित गरेको थियो। सोही बमोजिम केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरू गर्ने गरी कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्षले त्यसलाई रोक्न कानुनी बाटो रोजेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनको वैधानिकता र सर्वोच्चको अघिल्लो निर्णय पुनरावलोकन सम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन रहेकाले, अन्तिम किनारा नलागुञ्जेल महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने दाबी देउवा र खड्का पक्षले पूरक निवेदनमार्फत गरेका छन्।


