‘मोडल हन्ट नेपाल २०२६’ को १०औँ सिजनको शीर्षक उपाधि मेलतर्फ परन्तप भण्डारी र फिमेलतर्फ लिजा श्रेष्ठले जितेका छन् । दरबारमार्गस्थित होटल याक एन्ड यतिमा आयोजित एक भव्य समारोहका बीच उनीहरू शीर्ष विजेता घोषित भएका हुन् । प्रतियोगितामा दुवै विजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुका साथै आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस एन्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पक्का गरेका छन् ।
प्रतियोगितामा मेलतर्फ अनुस्कृत न्यौपाने फस्ट रनर अप र सुशान्त प्रजापति सेकेन्ड रनर अप बनेका छन् भने फिमेलतर्फ प्रियङ्का ओली फस्ट रनर अप र खुसी बोहरा सेकेन्ड रनर अप घोषित भएका छन् । यसबाहेक शीर्ष विजेता परन्तपले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर तथा लिजाले कमर्सियल मोडलको उपाधि समेत हात पारेका थिए । ‘नेक्स्ट मोडल्स नेपाल’को आयोजनामा भएको यस प्रतियोगितामा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार र राजभाइ सुवाललगायतका चर्चित व्यक्तित्वहरू निर्णायकको रूपमा रहेका थिए ।



