नेपाली कांग्रेसले काठमाडौंमा हुन लागेको आफ्नो १५ औं महाधिवेशनका लागि अन्तर्राष्ट्रिय समुदायलाई जोड दिँदै भारत र अमेरिकासहित ६ भन्दा बढी देशका प्रमुख राजनीतिक दलहरूलाई औपचारिक निमन्त्रणा पठाएको छ।
कांग्रेसले आफ्ना दुई छिमेकी मुलुकका शीर्ष दलहरूलाई महाधिवेशनमा आमन्त्रण गरेको छ। भारतको सत्तारुढ ‘भारतीय जनता पार्टी’ (भाजपा) र मुख्य प्रतिपक्षी ‘भारतीय राष्ट्रिय कांग्रेस’ (कांग्रेस आई) लाई पत्राचार गरिएको छ। साथै, चीनको ‘चिनियाँ कम्युनिस्ट पार्टी’ (CPC) र अमेरिकाका दुई प्रमुख दलहरू—’रिपब्लिकन’ र ‘डेमोक्रेटिक पार्टी’ लाई पनि उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाइएको छ।
युरोपेली मुलुकहरूबाट बेलायतको सत्तारुढ ‘लेबर पार्टी’ र प्रतिपक्षी ‘कन्जरभेटिभ पार्टी’ का साथै जर्मनीको सत्तारुढ ‘सोसल डेमोक्रेटिक पार्टी’ लाई बोलाइएको छ। त्यसैगरी, दक्षिण एसियाली छिमेकी मुलुक बंगलादेशको सत्तारुढ दल ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (BNP) लाई पनि कार्यक्रमका लागि आमन्त्रित गरिएको छ।
विभिन्न राजनीतिक दलहरूसँगै युरोपका लोकतान्त्रिक समाजवादी दलहरू, ‘सोसलिस्ट इन्टरनेसनल’ र ‘इन्टरनेसनल कन्फ्रेन्स फर एसियन पोलिटिकल पार्टीज’ (ICAPP) जस्ता बहुराष्ट्रिय संस्थाहरूलाई पनि खबर गरिएको छ। यद्यपि, तयारीका लागि उपलब्ध सीमित समय र प्रतिकूल मौसमका कारण विदेशी पाहुनाहरूको भौतिक उपस्थितिमा भने केही असर पर्न सक्ने नेताहरूको भनाइ छ।




