काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ। विपक्षी सांसदहरूको नाराबाजी र विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अघि बढाउँदै उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफाबार छलफल गरियोस् र यसलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेस गरेका थिए। सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकमा उपस्थित सांसदहरूको बहुमतले यसलाई स्वीकृत गरेको हो।
यस विधेयकमाथि विभिन्न सांसदहरूका तर्फबाट ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएका थिए। छलफलका क्रममा सांसद लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले आफ्ना संशोधन प्रस्तावहरू फिर्ता लिएका थिए भने अर्थमन्त्री डा. वाग्लेले सांसदहरूले राखेका अन्य सकारात्मक संशोधनहरूलाई सरकारले स्वीकार गर्ने प्रतिबद्धता जनाएका थिए।
मुलुकको दिगो पूर्वाधार विकास, ऊर्जा, र रोजगारी सिर्जना गर्ने ठूला आयोजनाहरूका लागि ऋणपत्र, स्वपुँजी कोष (इक्विटी) तथा अन्य वित्तीय उपकरणमार्फत आन्तरिक एवं वैदेशिक लगानी जुटाउने कानुनी बाटो खोल्न यो विधेयक ल्याइएको हो। प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १२ गते मङ्गलबार बिहान ११:०० बजे बस्ने गरी स्थगित भएको छ।




