काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने औपचारिक भारत भ्रमणमा जानुअघि अमेरिकी विदेश मन्त्रालयकी उच्च अधिकारी नेपाल भ्रमणमा आउने भएकी छन् । अमेरिकाको जनकूटनीति तथा सार्वजनिक मामिला सम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स आगामी जेठ १६ गते तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिने तय भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपालमा अमेरिकी उच्च अधिकारीहरूको यो तेस्रो र अहिलेसम्मकै सबैभन्दा वरिष्ठ तहको भ्रमण हो । तीन दिने नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका उच्च अधिकारीहरूसँग द्विपक्षीय हित, लगानीको वातावरण र जनस्तरको सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गर्नेछिन् । साथै, उनी अमेरिकी दूतावासद्वारा आयोजित ‘नेपाल एसेन्ट समिट २०२६’ मा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
अमेरिकी उपविदेशमन्त्रीको भ्रमण सकिएलगत्तै रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको यो भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नेछन् ।
नेपालमा आम निर्वाचनपछि रास्वपाले बलियो उपस्थिति जनाउँदै बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि छिमेकी भारत र शक्तिराष्ट्र अमेरिका दुवैले नेपालसँगको उच्चस्तरीय कूटनीतिक संवादलाई तीव्र पारेका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमण तत्काल निश्चित नभएका बेला सत्ता साझेदार दलका प्रमुख लामिछानेको भारत भ्रमण र त्यसअघि हुन लागेको अमेरिकी उपविदेशमन्त्रीको नेपाल आगमनलाई कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।




