मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमका अनुसार, सन् २०२६ को फिफा विश्वकपका लागि इरानको राष्ट्रिय फुटबल टोली अमेरिकाको सट्टा मेक्सिकोमा बस्ने भएको छ। अमेरिकाले इरानी टोलीलाई आफ्नो देशमा बस्ने अनुमति दिन अस्वीकार गरेपछि फिफाले मेक्सिको सरकारसँग सहयोग मागेको थियो। राष्ट्रपति सेनबाउमले पत्रकार सम्मेलनमा भन्नुभयो, “अमेरिकाले इरानी टोलीलाई आफ्नो भूमिमा रात बिताउन दिन चाहेन, त्यसैले फिफाले हामीलाई सोध्यो र हामीले यसमा कुनै आपत्ति नरहेको भन्दै स्वीकार गर्यौँ।”
यसअघि इरानले आफ्नो प्रशिक्षण क्याम्प अमेरिकाको एरिजोनामा राख्ने तय गरेको थियो। तर, अमेरिका र इरानबीच बढ्दो राजनीतिक तथा सैन्य तनावका कारण उत्पन्न सुरक्षा जोखिम र भिसा सम्बन्धी झन्झटबाट बच्न फिफाको सहमतिमा इरानी टोलीले आफ्नो बेस क्याम्प मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा सार्ने निर्णय गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च महिनामा इरानलाई विश्वकप खेल्न स्वागत भए पनि सुरक्षाका कारण उनीहरू अमेरिकामा बस्नु उपयुक्त नहुने बताएका थिए।
यद्यपि, इरानले विश्वकपका आफ्ना तीनवटै समूह चरण (Group G) का खेलहरू अमेरिकी भूमिमै खेल्नुपर्नेछ। इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डसँग, जुन २१ मा लस एन्जलसमै बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने तालिका छ। खेलका दिन इरानी टोली मेक्सिकोबाट खेल हुने अमेरिकी सहरहरूमा यात्रा गर्नेछ र खेल सकिएपछि पुनः मेक्सिको नै फर्किनेछ। इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजका अनुसार यो निर्णयले भिसा प्रक्रिया सहज बनाउन र ‘इरान एयर’ को सीधा उडानबाट मेक्सिको पुग्न टोलीलाई मद्दत गर्नेछ।




