साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार मियामी स्टेडियममा भएको निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकाल्दै अर्जेन्टिनाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। अब अर्जेन्टिनाले आउँदो मंगलबार एटलान्टामा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
६४ हजारभन्दा बढी दर्शकमाझ भएको खेलको २९औँ मिनेटमा लियोनल मेसीले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। लिसान्ड्रो मार्टिनेजको लामो पासलाई नियन्त्रणमा लिँदै मेसीले विश्वकप इतिहासमा आफ्नो २०औँ गोल पूरा गरे। तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको केप भर्डका लागि ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको सुरुवातमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए पनि केप भर्डका सिड्नी लोपेस काब्रालले १०३औँ मिनेटमा सुन्दर गोल गर्दै खेल फेरि २–२ को स्थितिमा पुर्याए। खेल पेनाल्टीतर्फ जाने संकेत देखिँदा अतिरिक्त समयको दोस्रो हाफमा मेसीको कर्नरमा क्रिस्टियन रोमेरोको हेड बल केप भर्डका डिने बोर्जेसको हातमा लाग्दै आत्मघाती गोल हुन पुग्यो, जुन अर्जेन्टिनाको जितमा निर्णायक बन्यो।
विश्व वरियतामा ६७औँ स्थानमा रहेको केप भर्ड पराजित भए पनि आफ्नो साहसी प्रदर्शनका कारण सबैको मन जित्न सफल भयो। समूह चरणमा स्पेन र उरुग्वे जस्ता बलिया टोलीलाई बराबरीमा रोकेको केप भर्डले अर्जेन्टिनालाई पनि अन्तिम समयसम्म कडा टक्कर दिएको थियो। खेलको अन्तिम समयमा केप भर्डले फ्रिकिकमार्फत बराबरी गर्ने अवसर पाए पनि अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए।



