पार्टी सुदृढीकरणका लागि एमालेको राष्ट्रिय कार्यशाला, केपी ओलीद्वारा उदघाटन

काठमाडौँमा नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यशाला भव्य रूपमा सुरु भएको छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी उक्त विशेष कार्यशालाको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।

प्रतिनिधि सभा निर्वाचनपछि लामो समय राजनीतिक वृत्तमा सुनसान रहेका अध्यक्ष ओली यस कार्यक्रममार्फत पहिलोपटक सार्वजनिक रूपमा देखा परेका हुन्। उनले बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा गमलामा पानी हालेर कार्यशालाको औपचारिक सुरुवात गरे। निर्वाचनपछिको उनको यो पहिलो सार्वजनिक उपस्थिति भएकाले पनि यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

एमाले प्रचार विभागका अनुसार यो कार्यशाला मुख्य गरी पार्टीको सांगठनिक सुदृढीकरण, आन्तरिक गतिशीलता र संगठनलाई जगैदेखि बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यशालामा देशैभरका सातै प्रदेश तथा जिल्लाका इन्चार्जहरू, कमिटीका पदाधिकारीहरू, संगठन विभागका प्रमुखहरू र जनसंगठनका केन्द्रीय नेतृत्वको बाक्लो उपस्थिति रहेको छ।

दुई दिनसम्म चल्ने यस राष्ट्रिय कार्यशालामा पार्टीको सदस्यता विस्तारलाई कसरी तीव्रता दिने, नवीकरण प्रक्रियालाई कसरी चुस्त बनाउने र आगामी दिनमा पार्टीको सांगठनिक संरचनालाई कसरी अगाडि बढाउने भन्नेबारे सघन छलफल र अभिमुखीकरण गरिने एमाले वृत्तले जनाएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ