चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ, असार १६ । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको २६औँ वर्षगाँठ (वार्षिकोत्सव) विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ डिजिटल पहलहरूको घोषणा गर्दै भव्य रूपमा मनाएको छ। नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, नियमन र विकासका लागि वि.सं. २०५७ असार १६ गते स्थापना भएको बोर्डले आफ्नो २६ वर्ष पार गरेको अवसरमा विशेष समारोहको आयोजना गरेको हो।

काठमाडौँस्थित बोर्डको प्रेक्षालयमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाहरूप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताउनुभयो। उहाँले संसद्‌मा विचाराधीन अवस्थामा रहेको नयाँ चलचित्र विधेयकलाई सान्दर्भिक र व्यावहारिक बनाउन सबै सरोकारवालाहरूबाट रचनात्मक सुझाव संकलन गरिने स्पष्ट पार्नुभयो।

त्यसैगरी, विशिष्ट अतिथि सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग र प्रभावकारी प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रमको अध्यक्षता गर्दै बोर्डका अध्यक्ष दिनेश डी.सी. (दिनेशराज दाहाल) ले चलचित्र क्षेत्रको दीर्घकालीन हितका लागि नयाँ चलचित्र ऐन आउन लागेको जानकारी दिँदै चलचित्रकर्मीहरूलाई व्यावहारिक सुझावहरू प्रदान गर्न आग्रह गर्नुभयो। बोर्डका सदस्य-सचिव राजेश कुमार थापाले स्वागत मन्तव्य राख्दै बोर्डले प्रविधिमैत्री सेवा र चलचित्रकर्मीको सम्मानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।

वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रलाई डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार पारिएको ‘सिनेपा’ एप (Full Version) सार्वजनिक गरिएको थियो। प्रमुख अतिथि मन्त्री डा. तिमिल्सिनाले उक्त एपको उद्घाटन गर्नुभएको हो। यसका साथै बोर्डले आफ्ना वार्षिक गतिविधि समेटिएको प्रकाशन “शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि” तथा सिनेपा: पुस्तकको समेत विमोचन गरेको छ।

समारोहमा विगत २५ वर्षभित्र विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चलचित्रकर्मीहरू निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य तथा मेकअप आर्टिस्ट निलम पौडेललाई विशेष सम्मान प्रदान गरिएको थियो।

बोर्डले आयोजना गरेको वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा समेत सोही अवसरमा प्रकाशन गरी विजेताहरूलाई पुरस्कार वितरण गरियो। चलचित्र विकास बोर्डले पूर्व घोषित सूचना बमोजिम आयोजना गरिएको वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा समेत प्रकाशन गरेको छ। नतिजा अनुसार वृत्तचित्र विधा तर्फ डा. अनुपमा अमात्यको ‘काठमाडौ’ प्रथम हुन सफल भएको छ। त्यसैगरी विपना तामाङ भुजेलको भुजेल भाषाको वृत्तचित्र ‘बोबो ज्याम पड़ ही सम्मुखकर्म ले द्वितीय स्थान हासिल गरेको छ भने भगवती कुमारी (मैनाली) उप्रेतीको ‘योगमाया खोज’ ले पनि उत्कृष्ट स्थान प्राप्त गरेको छ।

लघु चलचित्र (Short Film) विधा तर्फ कमल एक्चे मगरको ‘बाछिटा’ प्रथम (एएस) स्थान हासिल गर्न सफल भएको छ। यसै विधा अन्तर्गत अमन श्रेष्ठ र दान श्रेष्ठको संयुक्त निर्माण रहेको लघु चलचित्र ‘आई सि यू’ ले द्वितीय स्थान प्राप्त गरेको बोर्डले जनाएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्ड स्थापना यताको २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक व्यापार गर्न सफल ३१ नेपाली चलचित्रहरूको नामावली सार्वजनिक गरिएको थियो। उक्त सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ श्रृंखला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’, ‘महापुरुष’ लगायतका सफल चलचित्रहरू समेटिएका छन्।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा बोर्डले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणलाई ध्यानमा राख्दै मृगस्थलीमा वृक्षारोपण तथा बोर्ड परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। उक्त भव्य समारोहमा मन्त्रालयका उच्च अधिकारीहरू, केन्द्रीय चलचित्र जाँच समितिका प्रतिनिधिहरू, चलचित्रसम्बद्ध १४ वटा संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, कलाकार, निर्माता, निर्देशक, प्राविधिक र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ