राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ। महाधिवेशनको तयारी स्वरूप बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चयन भइसकेको छ। यस्तै, कर्णाली प्रदेशमा आइतबार र सुदूरपश्चिम प्रदेशमा सोमबार अधिवेशन सम्पन्न हुने कार्यतालिका रहेको छ।
अन्य प्रदेशहरूमा प्रक्रिया अघि बढे पनि मधेस प्रदेशको अधिवेशन भने राष्ट्रिय महाधिवेशन अगाडि नहुने निश्चित भएको छ। निर्वाचन आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत बनाउन आवश्यक देखिएकाले मधेस प्रदेशका सम्पूर्ण अधिवेशनका गतिविधिहरू स्थगित गरिएको जानकारी दिएको थियो।
मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा आपसी विवाद र दुई पक्षीय झडपका कारण पर्सा बाहेक अन्य ७ वटा जिल्लाको अधिवेशन यसअघि नै स्थगित भइसकेको थियो। निर्वाचन आयोगका प्रमुख भुवन केसीले राष्ट्रिय महाधिवेशनको मिति निकै नजिकिएकाले मधेसको अधिवेशन तत्काल हुने सम्भावना नरहेको बताएका छन्। यद्यपि, महाधिवेशन अगावै कसरी अधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा पार्टी नेतृत्व र निर्वाचन आयोगसँग लगातार पहल भइरहेको मधेस प्रदेशका महामन्त्री मनिषकुमार साहले जानकारी दिएका छन्।


