परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि बेइजिङमा

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ गएराति काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समय अनुसार आज अपराह्न चीनको राजधानी बेइजिङ ओर्लनुभएको हो।

बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएका परराष्ट्रमन्त्री खनाललाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले भव्य स्वागत गरेका थिए। मन्त्री खनालको सम्मानमा बेइजिङस्थित नेपाली दूतावासले आजै साँझ एक विशेष स्वागत समारोहको आयोजना समेत गर्दैछ, जहाँ उहाँले चीनमा रहेका नेपाली समुदायसँग समसामयिक विषयमा अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। उक्त वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यलाई थप सबल र गतिशील बनाउने रणनीतिबारे सघन छलफल हुने जनाइएको छ। यसका साथै मन्त्री खनालले चीन सरकारका अन्य उच्च ओहोदाका अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका तय भएको छ।

कूटनीतिक भेटघाटबाहेक, नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने लगानी सम्मेलनमा समेत मन्त्री खनाल मुख्य अतिथिका रूपमा सहभागी हुनुहुनेछ। सो क्रममा उहाँले चिनियाँ उद्यमी तथा प्रतिष्ठित व्यवसायीहरूसँग भेट गरी नेपालमा लगानीका सम्भावना र वातावरणबारे छलफल गर्नुहुनेछ। चार दिने महत्त्वपूर्ण भ्रमण सम्पन्न गरी मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्कनुहुनेछ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ