ललितपुर महानगरपालिका वडा नं. १५ मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न, बद्री दाहालको अध्यक्षतामा तदर्थ समिति गठन

ललितपुर, असार ३१- ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा एक विशेष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ज्येष्ठ नागरिकहरूको सम्मान तथा उनीहरूको हकअधिकार संरक्षण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।

उक्त सम्मान कार्यक्रम वडा नं. १५ वडा समितिकी महिला सदस्य शशिकला आचार्य सुवेदीको विशेष पहल तथा सक्रियतामा आयोजना गरिएको थियो। कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाउनका लागि सभाको अध्यक्षता समेत महिला सदस्य सुवेदी आफैँले गर्नुभएको थियो।

कार्यक्रममा ६० वर्ष उमेर नाघेका वडाका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उपस्थित ज्येष्ठ नागरिकहरूमध्ये सबैभन्दा पाको उमेरका ८६ वर्षीय ज्ञानराजदाहाललाई कार्यक्रमको प्रमुख अतिथि बनाइएको थियो। सभाकी अध्यक्ष शशिकला आचार्य सुवेदी र प्रमुख अतिथि ज्ञानराज दाहालले संयुक्तरूपमा उपस्थित सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान व्यक्त गर्नुभएको थियो। कार्यक्रममा अतिथिहरूको रूपमा विभिन्न टोल सुधार समितिका अध्यक्षहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

यसै अवसरमा ज्येष्ठ नागरिकहरूको हक अधिकारको संरक्षण गर्न र उनीहरूको हकहितका लागि निरन्तर आवाज उठाउने उद्देश्यले एक नयाँ समिति समेत गठन गरिएको छ। बद्री दाहालको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक तदर्थ समिति र ६ सदस्यीय सल्लाहकार समितिको समेत सर्वसम्मत गठन गरिएको छ। नवगठित समितिले आगामी दिनमा ज्येष्ठ नागरिकका सवालहरूलाई उठान गर्दै वडास्तरमा रचनात्मक कार्यहरू गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ