कालो सागरमा बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा भएको भीषण ड्रोन आक्रमणमा परेर एक व्यापारीक पानीजहाज (मर्चन्ट भेसल) डुबेको छ। उक्त आक्रमणका कारण जहाजमा सवार कम्तीमा ११ जना नाविकहरू बेपत्ता भएका छन्। यो घटना बुल्गेरियाली तटदेखि करिब ३० किलोमिटर (१९ माइल) को दूरीमा घटेको अधिकारीहरूले बताएका छन्।
बुल्गेरियाली अधिकारीहरूको जानकारी अनुसार सो रातको आक्रमणको चपेटामा दुईवटा कार्गो जहाजहरू परेका थिए। गियानी-बिसाउको झण्डाबाहक ‘एचएस डिग्निटी’ नामक कार्गो जहाज डुबेको छ भने यसमा रहेका ११ नाविक बेपत्ता हुनुका साथै अन्य ५ जनालाई जीवितै उद्धार गरिएको छ। आक्रमणमा परेको अर्को माल्ताको झण्डाबाहक ‘चेल्सी ३’ जहाजमा तीनवटा ड्रोनले प्रहार भए पनि त्यहाँ रहेका १५ जना चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गरिएको छ।
घटना लगत्तै बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेभले आपतकालीन सुरक्षा बैठकको आह्वान गर्दै देशको तट नजिकै भएको यो हमलालाई “पूर्णतया अस्वीकार्य” भनी कडा शब्दमा आलोचना गरेका छन्। बुल्गेरियाले आफ्नो सामुद्रिक तथा हवाई क्षेत्रको निगरानी र सुरक्षा सुदृढ पार्न नेटो र युरोपेली संघसँग थप सहायता माग गरेको छ।
बुल्गेरियाली पक्षले यस आक्रमणमा सीधा रूसको संलग्नता रहेको भनी औपचारिक आरोप नलगाए पनि यो घटनाबाट रूसलाई नै फाइदा पुग्ने तर्क गरेको छ। यस सम्बन्धमा बुल्गेरियाले रुसी राजदूत एलोनोरा मित्रोफानोभालाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिएको छ। रुसी राजदूत मित्रोफानोभाले भने रूसी रक्षा मन्त्रालयबाट यस आक्रमणबारे कुनै पनि जानकारी प्राप्त नभएको र यो तेस्रो पक्षको उक्साहट पनि हुन सक्ने बताएकी छिन्।
गत एक साताभित्र बुल्गेरियाको जलक्षेत्र नजिकै व्यापारीक पानीजहाजहरूमाथि भएको यो दोस्रो घातक ड्रोन आक्रमण हो। यस घटनाले रूस-युक्रेन युद्धका कारण कालो सागर क्षेत्रमा अन्तराष्ट्रिय ढुवानी, खाद्यान्न आपूर्ति र जलमार्गको सुरक्षामा गम्भीर जोखिम बढेको छ।



