नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको कुनै पनि किसिमको अभाव नरहेको जानकारी दिएको छ। देशमा दैनिक मागअनुसार नै नियमित रूपमा ग्यास आपूर्ति भइरहेको निगमले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।
नेपालमा ग्यासको मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेको छ। वर्तमान समयमा बढेको आकस्मिक मागलाई ध्यानमा राख्दै यस महिना आयात परिमाणसमेत बढाइएको छ, जसअनुसार साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास भित्रिइसकेको छ।
काठमाडौँ उपत्यकामा उच्च माग भएका केही विशिष्ट ब्रान्डका ग्यास सहज रूपमा उपलब्ध गराउन टेकुस्थित निगमको कार्यालयबाटै बिक्री वितरण भइरहेको छ। नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म त्यहाँबाट उपलब्ध गराइएको छ।
यदि कसैले ग्यास नपाएको वा कुनै समस्या तथा गुनासो भएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न निगमले उपभोक्ताहरूलाई आग्रह गरेको छ।



