नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। सानेपा पुगेर कांग्रेस सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले गत साउन ७ गते मात्रै श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको घोषणा गर्नुभएको थियो। तर, मनोनयन भएको एक साता नबित्दै उहाँको निधन भएपछि पार्टीले एक अनुभवी र अग्रज अभिभावक गुमाएको छ।
वि.सं. २००१ मा जन्मिनुभएका गोपालमान श्रेष्ठले २०१७ सालमा विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रको पक्षमा निरन्तर सङ्घर्ष गर्नुभएको थियो। उहाँले २०३६ को जनमतसङ्ग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नुभएको थियो। लोकतन्त्र स्थापना र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन उहाँको योगदान महत्वपूर्ण मानिन्छ।
श्रेष्ठ २०४२ देखि २०४८ सम्म कांग्रेस स्याङ्जाको सभापति रहनुभएको थियो। प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ को आमनिर्वाचनमा स्याङ्जा-१ बाट निर्वाचित भई उहाँ वाणिज्यमन्त्री बन्नुभएको थियो। त्यसपछि २०५६ को निर्वाचन जितेर मुख्य सचेतक र २०५७ मा वन मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।
पार्टी विभाजनका क्रममा उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा रहेर २०५९ देखि २०६३ सम्म कार्यवाहक सभापति हुनुभएको थियो। पार्टी एकीकरणपछि उपसभापति बन्नुभएका श्रेष्ठ २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा-२ बाट विजयी भई भौतिक योजनामन्त्री र २०७२ मा उपप्रधान तथा शिक्षामन्त्री हुनुभएको थियो।



