विश्व बाघ दिवसका अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दै नेपालमा वयस्क बाघको सङ्ख्या ४२९ पुगेको घोषणा गरेका छन्। यसअघि सन् २०२२ (२०७८) को गणनामा नेपालमा ३५५ वटा बाघ रहेका थिए। चार वर्षको अवधिमा नेपालमा ७४ वटा बाघ थपिएका हुन्।
नयाँ तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वटा बाघ फेला परेका छन् (अघिल्लो गणनामा १२८)। दोस्रो बढी बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा भने यसपटक सङ्ख्या घटेर ११२ मा झरेको छ, जहाँ अघिल्लो गणनामा १२५ वटा बाघ थिए। यस्तै, पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेर ७१ पुगेको छ (पहिले ४१)। बाँके राष्ट्रिय निकुञ्जमा ५१ (पहिले २५) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ (पहिले ३६) रेकर्ड गरिएका छन्।
राष्ट्रिय बाघ गणनाका लागि क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरिएको थियो। पुसको दोस्रो सातादेखि वैशाखसम्म हजारौँ क्यामेरा ट्र्याप र सयौँ प्राविधिक तथा संरक्षणकर्मीहरूको प्रत्यक्ष संलग्नतामा तराईका पाँचवटा संरक्षित क्षेत्र र वरपरका जैविक मार्गहरूमा यो गणना सम्पन्न गरिएको हो।
नेपालले विगत डेढ दशकदेखि बाघ संरक्षणमा अन्तर्राष्ट्रियस्तरमै उदाहरणीय सफलता हासिल गर्दै आएको छ। सन् २०१० मा नेपालमा १२१ वटा मात्रै बाघ रहेकामा हाल यो सङ्ख्या झण्डै चार गुणाले बढेको छ। तर, बाघको सङ्ख्या तीव्र रूपमा बढेसँगै बासस्थानको क्षमता, आहाराको पर्याप्तता र मानव-वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्नु नेपालका लागि नयाँ चुनौती बनेको संरक्षणविद्हरूले बताएका छन्।



