प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीद्वारा जेठ १७ गतेको बैठकमा व्यक्त गरिएको सीमासम्बन्धी अभिव्यक्तिको कडा विरोध गर्दै सरकारसँग स्पष्ट जवाफ मागेका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त विवादित भनाइ राष्ट्रियता र सीमाको संवेदनशीलतासँग जोडिएकाले त्यसलाई संसद्को रेकर्डबाट तत्काल हटाइनुपर्ने माग पुनः दोहोर्याएका छन्।
नेकपा सांसद प्रमेश हमालले नेपालले भारतको भूमि मिचेको छ भन्ने विषय उठेपछि आएको प्रधानमन्त्रीको भनाइबारे सरकारको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने माग गर्नुभयो। उहाँले प्रधानमन्त्रीका यस्ता अभिव्यक्तिहरू निरन्तर आइरहने र संसद्मा केवल विरोध मात्र गरेर नहुने भन्दै यस्तो शैली सधैँका लागि बन्द हुनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले परराष्ट्रमन्त्रीलाई लक्षित गर्दै त्रिदेशीय सीमासम्बन्धी विषयमा चीनसँग के-कस्तो कुरा भएको छ भनी प्रश्न गर्नुका साथै सुस्तामा भारतीय नागरिकको प्रवेश, दार्चुलाको नेपाली आकाशमा हेलिकप्टरको घुसपैठ र नेपाली चिया निर्यातमा भइरहेको अवरोधप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।
त्यसैगरी नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले विगतमा ससाना केटाकेटीलाई ललिपप देखाएर फकाएजस्तो शैलीमा परराष्ट्रमन्त्रीले बोलेर मात्र नपुग्ने टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीको यस्तो गम्भीर अभिव्यक्तिबारे मन्त्रीले भन्दा पनि स्वयं प्रधानमन्त्रीले नै संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने उहाँको स्पष्ट भनाइ थियो। बैठकमा एमालेकी सांसद टुकाभद्रा हमालले पनि प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने मागमा ऐक्यबद्धता जनाउनुभयो।



