हेबेई प्रान्तको काङबाओ काउन्टीमा तरकारी खरिद गर्ने केन्द्रमा कामदारहरूले बन्दाकोभीको फेद वा जरालाई तरल पदार्थ भरिएको भाँडोमा डुबाएर ट्रकमा लोड गरिरहेको भिडियो एक चिनियाँ ब्लगरले सार्वजनिक गरेका थिए। त्यहाँ राखिएको एउटा ड्रममा ” फर्मान्डिहाइड ” लेखिएको भेटिएको थियो। यसरी केमिकल प्रयोग गर्दा बन्दाकोभी २ देखि ३ दिनसम्म नकुही ताजा रहने बताइएको छ।
भिडियो भाइरल भएपछि स्थानीय काउन्टी सरकार र चिनियाँ केन्द्रीय खाद्य सुरक्षा निकायहरूले उक्त घटनाको सत्यता पुष्टि गर्दै छानबिन अगाडि बढाएका छन्। प्रहरीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ भने सामान ओसारपसारमा प्रयोग भएका गाडीहरू जफत गरेको छ। चीनको खाद्य सुरक्षा कानून अनुसार खाद्य पदार्थमा फर्मान्डिहाइड प्रयोग गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रतिबन्धित छ। फर्मान्डिहाइड (जसको घोललाई फर्मालिन पनि भनिन्छ) विश्व स्वास्थ्य संगठन द्वारा प्रमाणित मानिसमा क्यान्सर गराउने रसायन हो। यसले पाचन प्रणाली र श्वासप्रश्वासमा गम्भीर असर पुर्याउँछ। चीनका मुख्य शहरहरू (जस्तै बेइजिङको सिनफादी तरकारी बजार) मा परीक्षण तीव्र पारिएको छ भने यो दूषित बन्दाकोभी अन्य देशमा निर्यात भएको छ कि छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ।



