संवैधानिक प्रावधान अनुसार आज देशभरका सातै वटा प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। यसै क्रममा कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा आकार बढाएर करिब ४० अर्ब रुपैयाँ हाराहारीको नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज दिउँसो प्रदेश सभा बैठकमा आगामी वर्षको यो आर्थिक खाका प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
विगतको तुलनामा यसपटक वित्तीय कार्यक्रमको आयतन केही फराकिलो बनाइएको मन्त्रालय स्रोतले जनाएको छ। चालू आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा स्रोत अभावका कारण मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो। तर आगामी वर्षका लागि भने संघीय सरकारबाट आउने अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आम्दानीको बलियो आधार प्रस्तुत गर्दै बजेटको आकार ४० अर्बको आसपास पुर्याइएको हो। ४० अर्बको बजेट जुटाउनका लागि सरकारले विभिन्न आन्तरिक तथा बाह्य स्रोतहरू अनुमान गरेको छ। जसअनुसार, संघबाट वित्तीय समानीकरण लगायतका शीर्षकमा साढे १६ अर्ब रुपैयाँ अनुदान आउनेछ। राजस्व बाँडफाँटबाट करिब १३ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान छ। प्रादेशिक आन्तरिक राजस्व र चालू आर्थिक वर्षको सञ्चित कोषमा बचत हुने रकम (करिब ५ अर्ब रुपैयाँ) लाई मुख्य आधार बनाइएको छ।
यसपटकको बजेटमा प्रादेशिक सांसदहरू मार्फत खर्च हुने विकास बजेटलाई पनि विशेष प्राथमिकता दिइएको छ। सरकारले प्रत्येक क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदका लागि ४ करोड रुपैयाँ र समानुपातिक सांसदका लागि २ करोड ५० लाख रुपैयाँका दरले योजनाहरू बजेटमा समावेश गरेको बुझिएको छ। यसका साथै प्रदेशका गौरवका आयोजना, सडक, खानेपानी र पर्यटन क्षेत्रका अधुरा आयोजनाहरूलाई पूर्णता दिने गरी बजेट केन्द्रित हुने बताइएको छ।



