एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। भ्रमणका क्रममा उनले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग विशेष भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि कुनै पनि विदेशी उच्च अधिकारीसँग गर्न लागेको यो पहिलो एकल भेटघाट हो।
भ्रमणका क्रममा नेपाल सरकार र एसियाली विकास बैंक बीच ५ करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण सम्झौतामा हस्ताक्षर हुनेछ। यसले नेपालको भन्सार प्रशासनलाई डिजिटलाइजेसन गरी व्यापार लागत घटाउन मद्दत गर्नेछ। जलवायु अनुकुलित खानेपानी र सहरी सरसफाइ सेवा सुधारका लागि ११ करोड ५० लाख डलरको अर्को सम्झौतामा समेत हस्ताक्षर गरिने कार्यक्रम रहेको छ। अध्यक्ष कान्डाले नेपालमा एसियाली विकास बैंकको लगानीमा सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत निरीक्षण समेत गर्नेछन्।
प्रधानमन्त्री बालेन शाहले यसअघि विदेशी कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट्न अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयमार्फत सामूहिक ब्रिफिङलाई जोड दिँदै आएका थिए। त्यसैले, एसियाली विकास बैंकका अध्यक्षसँग हुन लागेको यो एकल भेटवार्तालाई नेपालको कूटनीतिक मर्यादा र विकास साझेदारीका हिसाबले निकै चासोका साथ हेरिएको छ। प्रधानमन्त्रीसँग भेट्नुअघि अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै छलफल गर्ने कार्यतालिका छ।



