प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्की दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले यस घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केरुङले लोकतन्त्र र सुशासनको नारा दिएर गठन भएको सरकारको यस्तो कार्यशैलीलाई ‘अत्यन्तै लज्जाजनक’ भन्नुभएको छ। संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई थुनछेक गरी प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको वा त्यसो नगरे थुन्ने धम्की दिइएको कुरा बाहिर आएकाले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग उहाँको छ।
यसै गरी, सांसद केरुङले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन आयोगको प्रतिवेदनलाई समेत तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ।



