राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले परिषद्को बैठक बोलाएका छन्। उक्त बैठक आज बिहान साढे ११ बजे बस्ने गरी तय भएको छ। यस बैठकमा हालै घटेको सुनसरी घटनाका साथै देशको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्था र सुव्यवस्थाबारे विस्तृत छलफल हुनेछ।
नेपालको संविधानको भाग २८ मा भएको संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने गर्छन्। यस परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रूपमा काम गर्ने व्यवस्था रहेको छ।
राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनाको परिचालन वा नियन्त्रण सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने, सेनाको सुदृढीकरण एवम् आधुनिकीकरणका लागि आवश्यक कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि चाहिने हातहतियार, उपकरण र तिनको मापदण्ड सम्बन्धी नीति तर्जुमा गर्ने, तथा मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गरी सरकारलाई आवश्यक राय-सल्लाह दिने काम गर्दछ।



