काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले रु २० अर्ब बराबरको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ । राष्ट्र बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै ऋणपत्र २०८४ ‘च’ का लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो ।
यस ऋणपत्रको बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । सहभागी हुन चाहने काउन्टरपार्टीले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछाडि ४ अङ्कसम्म) स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।
राष्ट्र बैंकका अनुसार बोलकबोलका लागि न्यूनतम रु पाँच करोड र बढीमा रु पाँच करोडकै दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकम (रु २० अर्ब) सम्म बोलकबोल गर्न सकिने सर्त तोकिएको छ ।



