संसद्‍मा आज पनि विपक्षीको विरोध: प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रमुख विपक्षी दलहरूले आफ्नो विरोध जारी राखेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची सुरु भएको घोषणा गरेलगत्तै विपक्षी बेन्चका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्। विपक्षीहरूको लगातारको अवरोध र विरोधका कारण संसद्को नियमित कामकारबाही प्रभावित बन्दै गएको छ।

सभामुख अर्यालले लामो समयदेखि एउटै मुद्दालाई लिएर विपक्षी सांसदहरूले सदनको ध्यानाकर्षण गराइरहेको भन्दै सभालाई मर्यादित बनाउन आग्रह गर्नुभएको थियो। समयको ख्याल गर्दै र विषयवस्तु एउटै भएकाले विपक्षी दलका तर्फबाट एक जनाले मात्र बोलेर बैठक अगाडि बढाउने प्रस्ताव सभामुखले राख्नुभएको थियो। त्यसपछि उहाँले नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्नका लागि समय उपलब्ध गराउनुभयो।

विशेष समयमा बोल्दै सांसद कामीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सीमा विवादसम्बन्धी विवादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभयो। उहाँले संसद्मा उठेका गम्भीर प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले संसद्कै रोष्ट्रममा उभिएर दिनुपर्ने माग गर्नुभयो। गत १७ जेठमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भनी दिएको अभिव्यक्तिलाई लिएर संसद्‍मा विवाद चर्किएको हो।

प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति सार्वजनिक भएदेखि नै विपक्षी दलहरूले निरन्तर रूपमा सदनमा विरोध प्रदर्शन गर्दै आएका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले कि त आफ्नो दाबी पुष्टि गर्ने ठोस तथ्य र प्रमाण प्रस्तुत गर्नुपर्ने, होइन भने संसद् समक्ष माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। यस विषयमा सरकारले स्पष्ट जवाफ नदिएसम्म विरोधका कार्यक्रम जारी रहने संकेत विपक्षी दलहरूले गरेका छन्।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ