जेठ १९ । पाँच दिने औपचारिक भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफ्नो राजनीतिक भेटघाट तीव्र पार्नुभएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार दिल्ली पुग्नुभएका लामिछानेलाई आज भाजपा केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको हो । कार्यालय परिसरमा उहाँको स्वागतका लागि परम्परागत झाँकी प्रदर्शन गरिनुका साथै फूलमाला पहिराएर भाजपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा सभापति लामिछानेले भाजपाका नेता नीतिन नविनसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा भाजपा नेताहरूले लामिछानेलाई आफ्नो पार्टीको सङ्गठन, कार्यशैली र केन्द्रीय कार्यालयको संरचनाबारे विस्तृत जानकारी गराउनुभएको थियो । रास्वपाका अनुसार यो संवाद दुई देशका लोकतान्त्रिक शक्तिहरूबीचको दलगत अनुभव आदानप्रदान र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा केन्द्रित रहेको थियो ।
भ्रमण तालिका अनुसार नेपाल-भारत सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल गर्नुका साथै लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय र आफ्ना समर्थकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ । राजनीतिक भेटघाट र सांस्कृतिक सम्बन्धलाई जोड्ने उद्देश्यसहित नयाँ दिल्ली पुग्नुभएका उहाँ आफ्नो भारत बसाइका क्रममा अयोध्याको भ्रमणमा समेत जाने रास्वपाले जनाएको छ ।



