बालविवाहविरुद्ध नेपाली कला क्षेत्रको ऐक्यबद्धता: पूर्ण रूपमा बालविवाहमुक्त देशको परिकल्पना

काठमाडौँ — नेपालका स्थापित कलाकारहरूले समाजमा जरो गाडेर बसेको बालविवाहको कुप्रथाविरुद्ध बलियो र एकीकृत आवाज उठाएका छन्। मनोरञ्जन र कलाका माध्यमबाट समाजलाई सुसूचित गराउँदै आएका हास्य कलाकार, लोक गायक तथा चलचित्रकर्मीहरूले अब यो अभियानलाई सहरका सभा–समारोह र कागजी प्रतिबद्धतामा मात्र सीमित नराखी प्रत्यक्ष प्रभावित समुदायस्तरमै पुर्‍याउनुपर्ने जोड दिएका हुन्। देशलाई पूर्ण रूपमा बालविवाहमुक्त घोषणा गर्ने उद्देश्यका साथ कला क्षेत्र सशक्त रूपमा उभिएको छ।

वरिष्ठ हास्य कलाकार तथा अभिनेता जितु नेपालले बालविवाहविरुद्धको अभियानलाई प्रभावकारी बनाउन फोटो खिच्ने र ओठे प्रतिबद्धता जनाउने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार जहाँ बालविवाह बढी भइरहेको छ, त्यहीँ पुगेर नाटक, गीत, कविता र संवादका माध्यमबाट स्थानीयलाई सचेत गराउनु आवश्यक छ। सामाजिक रूपान्तरणका यस्ता अभियानका लागि आफू निःशुल्क रूपमा देशका जुनसुकै कुनामा जान तयार रहेको समेत उहाँले उद्घोष गर्नुभएको छ। यस्तै लोक गायिका लक्ष्मी नेपालीले सार्वजनिक बहसहरूमा टाढा बस्नेहरूले भन्दा पनि बालविवाह भोगिरहेका पीडितहरूका आफ्नै कथा, गीत र भावनालाई समाजसामु ल्याउनुपर्ने धारणा राख्नुभयो।

कलाकार भीमा मैनाली र शिवशङ्कर रिजालले कलाकारहरूलाई समुदायस्तरमा परिचालन गर्न सके बालविवाहजस्ता सामाजिक समस्याविरुद्ध ठूलो परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय बालविवाहमा केही कमी आए पनि मधेश र कर्णाली प्रदेशका कतिपय क्षेत्रमा यसको प्रभाव अझै चुनौतीपूर्ण रहेकाले स्थानीय तहहरूसँग सहकार्य गरेर सचेतनामूलक कार्यक्रम गाउँ–गाउँसम्म पुर्‍याउनुपर्नेमा उनीहरूको जोड छ। कलाकारहरूले लेखक, सञ्चारकर्मी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई आ–आफ्नो माध्यमबाट यो अभियानमा अग्रपंक्तिमा रहेर योगदान दिन आह्वान गरेका छन्।

बालविवाहलाई कानुनी व्यवस्थाभन्दा पनि बालबालिकाको जीवन, स्वास्थ्य र भविष्यसँग जोडिएको संवेदनशील विषयका रूपमा हेरिनुपर्ने लोक गायिका राधिका हमालको भनाइ छ। यसैबीच, सरकारले विवाहको न्यूनतम उमेर २० वर्षबाट घटाएर १८ वर्षमा झार्ने विषयमा गरिरहेको बहसमा गायक तथा सांस्कृतिक अभियन्ता रुपेश झाले असहमति जनाउनुभएको छ। १८ वर्षमा युवायुवतीको मानसिक विकास पूर्ण नहुने र विशेषगरी छोरीहरू आत्मनिर्भर हुनुअघि विवाह गर्दा भविष्यमा ठूलो संकट झेल्नुपर्ने भन्दै विवाहको न्यूनतम उमेर २० वर्ष नै उपयुक्त हुने उहाँको तर्क छ।

चर्चित गायिका आस्था राउतले बालविवाहले बालबालिकाको बाल्यकाल, शिक्षा, स्वास्थ्य र आत्मविश्वास मात्र नभई उनीहरूको भविष्यका सपनाहरू समेत खोस्ने उल्लेख गर्नुभयो। आफ्नो चर्चित गीत ‘झुम्के बुलाकी’ मार्फत छोरीलाई पनि छोरासरह शिक्षा र अवसर दिनुपर्ने सन्देश दिएको स्मरण गर्दै उहाँले शारीरिक तथा मानसिक रूपमा परिपक्व भएपछि मात्र आफ्नै रोजाइमा विवाह गर्नुपर्ने बताउनुभयो। त्यस्तै, चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्काले चलचित्रलाई मनोरञ्जनको साधन मात्र नभई सामाजिक सन्देश प्रवाह गर्ने माध्यम बनाउनुपर्ने बताउँदै आफ्नो पहिलो चलचित्र ‘कहाँ भेटिएला’ मा पनि बालश्रम र बालविवाहकै कथा उठाइएको स्मरण गर्नुभयो। उहाँले परम्परा र सामाजिक दबाबका नाममा बालिकाहरूलाई अधिकारबाट वञ्चित नगर्न सबैलाई  ‘विवाहमुक्त बाल्यकाल’ अभियानमा जोडिन आग्रह गर्नुभएको छ।

सम्बन्धित खबर

धेरै पढेको