प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता भएको छ। उक्त भेटघाटका क्रममा नेपालको हित, विकासका एजेन्डाहरू र एडीबीले नेपाललाई गर्दै आएको सहयोगका विविध विषयमा गहन छलफल भएको थियो। ‘जेनजी आन्दोलन’ पश्चात् बालेन शाह प्रधानमन्त्री बनेलगत्तै अध्यक्ष कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सामाजिक सञ्जाल (एक्स) मार्फत समेत व्यक्त गरेका थिए।
अध्यक्ष कान्दाको नेपाल भ्रमणकै अवसर पारेर नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ। नेपालका दुईवटा महत्त्वपूर्ण आयोजनाहरूमा लगानी गर्नका लागि उक्त रकम परिचालन गरिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको विशेष उपस्थितिमा सोमबार सो ऋण सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीको तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गर्नुभएको थियो।



