अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएको सैन्य कारबाहीमा नेटो सहयोगी राष्ट्रहरूले साथ नदिएको भन्दै ह्वाइट हाउसको एउटा बैठकमा तीव्र असन्तुष्टि जनाएका छन्। त्यसकै प्रतिक्रियास्वरूप उनले युरोपमा रहेका अमेरिकी सैनिकहरूको संख्या एक तिहाइले घटाउने र यसबाट नेटो सहयोगीहरूलाई एउटा कडा सन्देश जाने विचार व्यक्त गरेका थिए।
ट्रम्पको यो सोचसँगै अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तय गरिएका दुईवटा सैन्य तैनाथीलाई अचानक रद्द गर्यो। रक्षा सचिव पिट हेगसेथले जुन महिनाको नेटो बैठकमा सैनिक संख्यामा ठूलो कटौतीको घोषणा गर्ने योजना बनाएका थिए, तर अन्य वरिष्ठ अधिकारीहरूसँगको सल्लाहपछि उक्त योजना परिवर्तन गरियो। हाललाई अमेरिकाले युरोपमा रहेका आफ्ना सेनाहरूको ६ महिना लामो पुनरावलोकन सुरु गरेको छ।
टर्कीको राजधानी अंकारामा हुन लागेको नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा ट्रम्पको यस्तो धम्कीले ७७ वर्ष पुरानो यो सैन्य गठबन्धनमा तनाव बढाएको छ। ट्रम्पले सामाजिक सञ्जालमा “उनीहरू (सहयोगी राष्ट्रहरू) हाम्रो लागि उभिएनन्, त्यसैले अमेरिकाले मात्र एकतर्फी रूपमा यो सम्बन्ध धानिरहनु निरर्थक छ” भन्दै सार्वजनिक रूपमै आक्रोश पोखेका छन्।
युरोपेली नेताहरूले भने इरान मामिलामा आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै ट्रम्पको आलोचनाको प्रतिवाद गरेका छन्। यद्यपि, अंकारा सम्मेलनमा ट्रम्पको रिस शान्त पार्नका लागि नेटोका महासचिव मार्क रुटले युरोपेली देशहरूको तर्फबाट रक्षा खर्च बढाइएको तथ्याङ्क प्रस्तुत गर्दै ट्रम्पलाई फकाउने प्रयास गरिरहेका छन्।
अमेरिकाले पछिल्ला केही महिनाहरूमा युरोप (विशेष गरी जर्मनी) बाट अपेक्षाभन्दा तीव्र रूपमा सैनिकहरू फिर्ता गरिरहेको छ। यसले गर्दा युरोपेली देशहरू आगामी दिनमा अमेरिका बिना आफ्नो सुरक्षा कसरी गर्ने भन्ने योजना बनाउन बाध्य भएका छन्। सैनिक कटौतीको यो निर्णयले युक्रेनमा युद्ध लडिरहेको रुसलाई थप हौसला मिल्न सक्ने भन्दै कतिपय अधिकारीहरूले चिन्ता समेत व्यक्त गरेका छन्।



