नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने भएका छन्। यसअघि उनले आफ्नो स्थानमा उपसभापति पुष्पा भुसाललाई पठाउने निर्णय गरेतापनि, अन्तिम समयमा आएर उनी आफैँ उद्घाटन समारोहमा सरिक हुने निष्कर्षमा पुगेका हुन्।
चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना भइरहेको उक्त महाधिवेशनमा सहभागी हुन जानुअघि सभापति थापाले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई महाधिवेशनको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।
सभापति थापाले आफ्नो शुभकामना सन्देशमा स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन जुटाउँदै रास्वपाले राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरेका छन्। उनले संगठन निर्माणदेखि निर्वाचनसम्मको रास्वपाको यात्रालाई ‘प्रशंसनीय’ को संज्ञा दिएका छन्।
यसका साथै, यो महाधिवेशनले लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै पार्टीलाई विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउन एउटा ऐतिहासिक अवसर प्रदान गर्ने विश्वास समेत थापाले व्यक्त गरेका छन्।



