ललितपुर, ६ असार । ललितपुरको महालक्ष्मी रोडस्थित रिभाइभ लेजर पार्कमा ‘अभिभावक सचेतना तथा क्षमता विकास कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाल सामुदायिक विद्यालय अभिभावक जिल्ला समिति ललितपुरको आयोजना तथा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित उक्त विशेष कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शंकर प्रसाद भेटवालले गर्नुभएको थियो। ललितपुरका सम्पूर्ण पदाधिकारीहरूको आसन ग्रहणसँगै पानसमा बत्ती बालेर प्रमुख अतिथि र अध्यक्षद्वारा औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेशका माननीय सांसद रघुनाथ महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सांसद महर्जनले शिक्षा क्षेत्रमा लगाइएको तीन प्रतिशत कर तत्काल हटाउनुपर्ने जोडदार माग राख्नुभयो। उहाँले बागमती प्रदेशका हरेक पालिका र प्रत्येक वार्डमा अभिभावक र विद्यार्थी लक्षित यस्ता चेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गरिनुपर्ने कुरामा जोड दिँदै समाजलाई समृद्ध बनाउन र बालबालिकाहरूलाई सही मार्गनिर्देशन गर्न सबैभन्दा पहिले अभिभावकहरू स्वयं सचेत र सक्षम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित ललितपुर महानगरपालिका वार्ड नं. १५ का अध्यक्ष सुरेश बहादुर शाहीले आफ्नो मन्तव्य राख्नुभएको थियो। उहाँले यस प्रकार कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अभिभावक संघसँग मिलेर बागमती प्रदेशमा रहेका सामुदायिक विद्यालयहरूको नियमित अनुगमन, निरीक्षण र समन्वय गरिनुपर्ने कुरामा विशेष जोड दिनुभयो र आगामी बजेट तथा कार्यक्रममा यस्ता सचेतनाका लागि सहयोग गर्ने वचन समेत दिनुभयो।

कार्यक्रमको मुख्य सत्रमा उपस्थित अभिभावकहरूलाई प्राध्यापक तथा डाक्टर ख्यातराज (खेटराज) दाहालले ‘सामुदायिक विद्यालय नेतृत्व तालिम’ अन्तर्गत विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले बालबालिकाको सामाजिकीकरण, नियमित उपस्थिति, अनुशासन, आचारसंहिता, बालमैत्री वातावरण तथा पुरातन गुरुकुल पद्धति र आधुनिक शिक्षण पद्धतिका बारेमा गहन एवं व्याख्यातात्मक प्रशिक्षण दिनुभयो।

यस्तै, शिक्षाविद् दीपकराजा जोशी ‘चेतनाको भर्याङ-पठन संस्कृतिको महत्व’ र विज्ञ कुमार खतिवडा’सहभागी विद्यालय योजना, बजेट तथा जवाफदेहिता’ का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

उदघोषकको भूमिका भगवती मैनालीले निभाउनुभएको थियो। कार्यक्रममा संघकी जिल्ला सचिव ललिता दाहाल बन्जाराले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष भगवती मैनालीज्यूले पनि आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कलाकार बबि रोजा ढकाल र सुर रक्सले “मोहिनी लाग्ला है…” बोलको स्वागत गीत प्रस्तुत गरेर सहभागीहरूलाई उत्साहित तुल्याउनुभएको थियो भने बीच-बीचमा प्रस्तुत गरिएका गजलहरूले सहभागीहरूको ध्यान केन्द्रित गरेको थियो।

उक्त कार्यक्रममा विशेष अतिथिहरू सरिता महर्जन, रामप्रसाद न्यौपाने, बद्री प्रसाद, रामहरी दास श्रेष्ठ, चन्द्रकुमारी, नेम प्रसाद दाहाल केसी, काठमाडौँ जिल्ला समितिका बासुदेव अधिकारी, सल्लाहकार रामहरि श्रेष्ठ लगायतका वक्ताहरूले पनि आ-आफ्नो धारणा राख्दै प्रशिक्षण पश्चात्को कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुने र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो।

सामुदायिक विद्यालयका केन्द्रीय महासचिव हरिप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयमा पारदर्शिता, जवाफदेहिता र शिक्षाको गुणस्तरबारे मन्तव्य राख्नुभएको थियो। ललितपुर जिल्लाका दुर्गम महाकाल गाउँपालिका र बागमती गाउँपालिकाका विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरू समेत गरी १०० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएसँगै दिवाभोजको आयोजना गरेर समापन गरिएको थियो।





