महानगरपालिकाको गत आर्थिक वर्षको बजेटमा वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङको पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो ।
सोही अनुसार काठमाडौंले ५ हजार गाडी अट्ने गरी भूमिगत पार्किङको लागि नगर विकास कोषमार्फत अध्ययन अगाडि बढाएको थियो । तर खुलामञ्चको प्राकृतिक अवस्था खलबल्याउन नहुने भन्दै चर्को विरोध र आलोचना भयो । अहिले महानगरपालिकाले सम्भाव्यता अध्ययनबाट भूमिगत पार्किङ बनाउन सम्भव नदेखिएको बताएर खेल मैदानको योजना अघि सारेको हो ।
टुँडिखेल खुल्ला हुनुपर्ने माग राखेर लामो समयदेखि अभियान चलाइरहेका आलोक तुलाधरले महानगरको नियतमै खोट रहेको बताउँछन् ।
उनी खुलामञ्चमा २०७३ पछि व्यवसायीहरुको स्वार्थमा आधा भागमा बसपार्क राखिएको र त्यसपछि बाँकी भागमा विभिन्न ठेकेदारहरुको क्रसर र गोदाम घरहरु बनाइएको स्मरण गर्छन् ।
अकुपाई टुँडिखेल अभियान चलाएर विरोध गरेपछि बल्ल महानगरले ती संरचनाहरु हटाएर खुलामञ्च खाली गरेको थियो । तर, त्यसपछि महानगरले खुलामञ्चको गेटमा ताला ठोकेर राखेको छ । ‘खुला पहुँचमा ल्याउनुपर्नेमा उल्टै अघिल्लो वर्ष भूमिगत पार्किङ भनियो, त्यो गलत भएको बुझ्नासाथ खुलामञ्चमा खेल मैदान बनाउने भनिंदैछ, यसमा किन महानगरले वक्रदृष्टि लगाइरहन्छ ?’ आलोक प्रश्न गर्छन् ।
तुलाधर खेल मैदान बन्नेबित्तिकै खुलामञ्च सीमित क्लब र खेलाडीको पहुँचमा मात्र हुने बताउँछन् । ‘क्लबले लिन सक्ला, कुनै टिमले आफ्नो ग्राउण्ड बनाउन सक्ला, यसले त सबैको पहुँचबाहिर पाे लैजान्छ’ उनी भन्छन्, ‘यो साझा थलो हो, यसलाई कुनै वर्ग र समूहको पहुँचमा राखेर अरुलाई निषेध गर्न मिल्दैन ।’
उनले सार्वजनिक पोखरी र चौर मासेर लैनचौरमा फुटसल खेल सञ्चालन भइरहेको उदाहरण दिंदै त्यस्तो गल्ती खुलामञ्चमा दोहोर्याउन नहुने बताए । खुलामञ्च मासेर व्यवसायिक खेल मैदान बनाउने प्रयत्न भइरहेको भन्दै तुलाधरले भने, ‘आम मान्छेको पहुँच खुम्च्याएर सीमित वर्ग र समूहलाई पोस्न पाइँदैन ।’
सार्वजनिक स्थल र सम्पदा संरक्षणको पैरवी गर्दै आएका अधिवक्ता सञ्जय अधिकारी काठमाडौं महानगरका मेयर बालेन शाहको लहडले खुलामञ्चको अस्तित्व नै मेटिने जोखिम देखिएको बताउँछन् ।
‘उहाँलाई कतिबेला के लाग्छ, त्यही गरेर हुँदैन’, उनी भन्छन्, ‘खुलामञ्चभित्र जोसुकैले जुनसुकै बेला खुला रुपमा गएर बस्न पाउनुपर्छ, त्यसलाई अहिलेकै अवस्थामा संरक्षण गर्ने हो, यसमा पूर्वाधार थोपर्ने होइन ।’
मुक्त टुँडिखेल अभियानले खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय नगर्न महानगरलाई आग्रह गरेको छ । खुला सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दूषित मनसायका साथ काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन खोजेको आरोप लगाएको छ ।
Sources खुलामञ्चको अस्तित्व मेटाएर खेल मैदान बनाउँदै महानगर – Online Khabar



