फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियामाथि ४-२ को सानदार जित दर्ता गरेको छ। डालस स्टेडियममा भएको यस प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २-२ को रोमाञ्चक बराबरीमा सकिएको थियो, तर दोस्रो हाफमा थप दुई गोल गर्दै इंग्ल्यान्डले स्पष्ट जित निकाल्यो। यस जितसँगै समूह ‘एल’ मा रहेको इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुई गोल गरे भने जुड बेलिङहम र मार्कुस रासफोर्डले एक-एक गोलको योगदान दिए। खेलको १२औं मिनेटमा लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थाल्यो। सुरुमा केनको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाए पनि, प्रहार अगावै गोलकिपर अघि बढेकाले पुनः प्रहार गर्ने अवसर मिल्यो र केनले सहजै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।
खेलको ३६ औं मिनेटमा क्रोएसियाका मार्टिन बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि ४२ औं मिनेटमा डेक्लान राइसको कर्नर बलमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पुनः २-१ को अग्रता दिलाए। तर, पहिलो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा क्रोएसियाका पिटर मुसाले गोल फर्काएपछि पहिलो हाफ २-२ को स्थितिमा टुङ्गियो।
दोस्रो हाफ सुरु हुनासाथ ४७ औं मिनेटमा जुड बेलिङहमले एलिएट एन्डरसनको पासलाई सदुपयोग गर्दै गोल गरेर इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए। खेलको अन्त्यतिर, ८५ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्डले बुकायो साकाको पासमा चौथो गोल गर्दै इंग्ल्यान्डको ४-२ को शानदार जित सुनिश्चित गरे।



